शिक्षक लाइसेन्स नतिजा प्रकाशनको अन्तिम तयारी

काठमाडौ । शिक्षक सेवा आयोग शिक्षक लाइसेन्स नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको छ । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको माध्यमिक तह र निम्न माध्यमिक तहको कापी परीक्षण गरिसकेको छ । दुवै तहको उत्तरपुस्तिका परीक्षण गरिसकेको हुनाले नतिजा प्रकाशनको अन्तिम चरणमा आयोग पुगेको हो ।

त्यस्तै प्राथमिक तहका बाँकी रहेका कापी पनि तीव्र गतिमा परीक्षण भइरहेको आयोगले जानकारी दियो । लाइसेन्सको परीक्षामा माविका लागि १ लाख १ हजार ९९०, निमाविका लागि ५६ हजार १४० र प्राविका लागि ६६ हजार ५९५ गरी २ लाख २४ हजार ७२५ जना परीक्षार्थीले परीक्षा दिएका थिए । अबको एक महिना भित्र लाइसेन्सको नतिजा सार्वजनिक भइसक्ने आयोगका प्रवत्ता दामोदर आचार्यले जानकारी दिए ।