पालनपोषणः के बच्चा हुर्काउने पाश्चात्य तरिका अनौठो छ

“के ऊ अझै आफ्नै कोठामा छ?” नवजात शिशुको जन्मसँगै अर्कै माहौलबाट निस्केपछि नयाँ आमाबुवाले प्रायः यो प्रश्न सोध्ने गर्छन्।

तर बच्चादेखि आमाबुवाहरू छुट्टै सुत्ने प्रचलन तुलनात्मक रूपमा हालै शुरू भएको हो र यो विश्वभरि फैलिसकेको चलन होइन। अरू संस्कारमा एउटा कोठामा, अझ कहिलेकाहीँ एउटै ओछ्यानमा बच्चासँग आमाबुवा सुत्ने चलन हुन्छ।

यो एउटै पक्ष मात्र होइन जुन पाश्चात्य देशका आमाबुवाहरूले फरक ढङ्गले गर्छन्।

नियमित समयमै सुताउने र बालबालिकालाई राखेर गुडाउँदै हिँडडुल गर्न सकिने स्ट्रोलरहरूमा झुल्न अभ्यस्त गराउने कामलाई हामीले हुर्काइको मानक सोचे पनि त्यो कदापि होइन।

संयुक्त राज्य अमेरिका तथा यूकेमा आमाबुवाहरूलाई कम्तीमा शुरूका छ महिनासम्म आफ्ना बच्चालाई एउटै कोठामा सुत्न दिन सुझाव दिइन्छ। तर धेरैले समर्पित लालनपालन गर्न अगाडि बढ्ने दिशामा त्यसलाई एउटा सानो विश्रामको रूपमा लिने गर्छन्।

संसारका अरू धेरै समाजमा बच्चाहरू आफ्ना आमाबुवासँग लामो समयसम्म टाँसिइरहन्छन्।

सन् २०१६ मा गरिएको एउटा अध्ययन समीक्षाले एशियाली मुलुकहरूमा बच्चाहरू आमाबुवासँग एउटै कोठामा मात्र नभई प्रायः उही ओछ्यानमा सुत्ने गरेको देखाएको थियो।

उदाहरणका लागि भारत र इन्डोनेशियामा ७० प्रतिशतसम्म र श्रीलङ्का तथा भियतनाममा ८० प्रतिशतसम्मले त्यस्तो गरेको पाइयो।

अध्ययनअनुसार अफ्रिकी देशहरूमा त्यसरी सँगै सुत्ने चलन नियमित रहेको त देखिँदैन। तर जहाँजहाँ त्यो प्रचलन देखिन्छ त्यसबाट के पुष्टि हुन्छ भने त्यो चलन लगभग विश्वव्यापी छ।

भारतको ब्याङलोरस्थित चिकित्सक तथा पालनपोषणसम्बन्धी परामर्शदाता देवमिता दत्तका अनुसार पाश्चात्य प्रभावका बीच बच्चाहरू आमाबुवासँग एउटै ओछ्यानमा सुत्ने प्रचलन एकदमै सशक्त छ- चाहे बालबालिकाका लागि छुट्टै कोठा भएका परिवारमै किन नहोओस्।

“आमाबुवा र दुईजना बच्चा भएको परिवारमा आमाबुवा तथा बच्चाका लागि छुट्टाछुट्टै गरी तीनवटा ओछ्यान हुँदाहुँदै दुइटै बच्चालाई तपाईँ अभिभावककै ओछ्यानमा देख्न सक्नुहुन्छ,” उनी भन्छिन्।

एउटै ओछ्यानमा सुत्नु भनेको बच्चालाई राति देखभाल गर्न बोझ कम गर्ने एउटा तरिका पनि भएको दत्त बताउँछिन्।

चाँडै आत्मनिर्भर बन्न अभिप्रेरित गर्ने सोच चाहिँ व्यक्तिवादमा केन्द्रित ठेट पाश्चात्य संस्कृतिसँग जोडिएको छ।
त्यही भएर त्यता आमाबुवाहरू सँगै नसुतेर बच्चालाई आत्मनिर्भर हुन प्रोत्साहित गर्न खोजेको देखिन्छ।

तर समूहवादी सोच राख्ने दत्तजस्ता व्यक्तिले त्यसरी नहेर्न पनि सक्छन्।

उनी भन्छिन् “तपाईँ बच्चाहरूलाई केही आत्मविश्वास र केही आत्मनिर्भरता दिलाउनुहुन्छ। उनीहरू एउटा समयमा आफैँ तपाईँदेखि अलग हुन्छन्।”

“बच्चाहरू सधैँ तपाईँसँग टाँसिइरहन चाहँदैनन्,” दत्त थप्छिन्।

तर पाश्चात्य समाजका धेरै आमाबुवाहरू त्यसको सट्टा सुत्ने तरिकाहरू सिकाउन थाल्छन्।

कसरी फुल्याउने रोइरहेका बच्चालाई

त्यसअन्तर्गत सबैभन्दा कठोर अभ्यासमा उनीहरूले बच्चाहरूलाई रुन छोडिदिन्छन् ताकि बच्चाहरू लामो समयसम्म सुतून् र आमाबुवाले आराम गर्न सकून्।

अस्ट्रेलियामा सुत्न सिकाउने सरकारी आवासीय विद्यालयहरू पनि छन् जहाँ आमाबुवाले आफ्ना बालबालिकालाई सुत्ने प्रशिक्षण दिन पाउँछन्।

बच्चा कहाँ सुत्छन् भन्ने कुरालाई मात्रै प्रभावित पार्ने नभई कति बेला र कति समयसम्म सुत्छन् भन्ने कुरालाई पनि सांस्कृतिक पक्षले प्रभावित पार्छन्।

टोक्यो बे उरायासु इचिकावा मेडिकल सेन्टरका प्रमुख कार्यकारी अधिकृत जून कोह्यामा र उनका सहकर्मीले गरेको अध्ययनले तीन महिना पुगिसकेपछि एशियाका अरू मुलुकका बच्चाभन्दा जापानी बच्चाहरू कम सुत्न चाहने देखाएको छ।

उनका अनुसार सम्भवतः त्यसको कारण के हो भने “जापानमा सुत्नुलाई अल्छी कुराको रूपमा हेरिन्छ।”

यूकेमा जस्तै अमेरिकामा अमेरिकन एकेडेमी अफ पीडियाट्रिक्सले बच्चाहरूको अचानक हुने मृत्युमा कमी ल्याउन भन्दै एउटै कोठामा सुत्न आमाबुवालाई सुझाव दिने गर्छ।

यद्यपि एउटा ओछ्यानमा सुत्दा बच्चाको अचानक हुने मृत्यु अर्थात्‌ ‘सडेन इन्फेन्ट डेथ सिन्ड्रोम’ (एसआईडीएस) को जोखिम भएकोले ओछ्यान चाहिँ अलग राख्न उसको सुझाव छ।

तर अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेसस्थित पीडियाट्रिक विषयकी प्राध्यापक रश्मी दास एसआईडीएसका घटना एउटै ओछ्यानमा सुत्ने कुरासँग सम्बन्धित रहे वा नरहेकोबारे उच्चस्तरको अध्ययन नभएको बताउँछिन्।

उनका अनुसार यो विषय मुख्यतया उच्च आय भएका मुलुकबाट आउँछ जहाँ बच्चा तथा आमाबुवा एउटै ओछ्यानमा सुत्ने प्रचलन खासै हुँदैन।

तर कम आय भएका अनि बच्चा तथा आमाबुवा एउटै ओछ्यानमा सुत्ने प्रचलन रहेको कतिपय देशमा एसआईडीएस दर न्यून रहेको पाइएको छ।