प्रचण्डलाई किन भन्न चाहन्छन् ओली आफ्नो मनको कुरा ?

काठमाडौं । सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनको कुरा आफूलाई बताउन चाहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

बिहीबार सिन्धुलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो मनको कुरा भन्नु छ भन्दै प्रधानमन्त्री ओलीले आफूलाई बालुवाटार बोलाएको जानकारी दिएका हुन् ।

ओलीले फोन गरेर आफूसँग भेट गर्न आग्रह गरेको जानकारी दिएका प्रचण्डले भने, ‘अस्ति बिहान केपीजीको फोन आयो, एकपल्ट कुरा गर्नुप¥यो कमरेड भनेर भन्नुभयो । मेरो मनका कुरा सबै तपाईँलाई भन्न चाहन्छु भन्नुभयो ।’
तर, ओलीको भेट्ने प्रस्तावलाई आफूले अस्वीकार गरेको प्रचण्डको भनाइ छ । आफूले बारम्बार धोका पाएको भन्दै प्रचण्डले अब ओलीसँग नझुक्ने बताए ।

ओलीसँग झुक्ने समय सकिएकाले अब बालुवाटार गएर भेट्ने होइन उनैलाई खुमलटार बोलाउने तयारीमा रहेको भन्दै प्रचण्डले भने, ‘मनका कुरा भन्ने हो भने खुमलटार आएरै भन्नुस् भन्नेवाला छु ।’
पछिल्लो सयम ओली र प्रचण्डको टकरावले मुलुकको राजनीति अस्थिरतातर्फ धकेलिएको छ । उनीहरु एकअर्काविरुद्ध तल्लोस्तरमा झरेर टिप्पणी पनि गरेका छन् । तर, प्रधानमन्त्री ओलीले कस्तो आफ्नो मनको कुरा प्रचण्डसँग भन्न चाहेका हुन् त ? यसबारे न त प्रचण्डले न त प्रधानमन्त्री ओलीले नै बताएका छन् ।